Phoolbari Logo Special
Send Articles-phoolbari.com@gmail.com
 Season     Spring     Summer       Autumn      Winter  



अब के पाएँ होइन के दिन सक्छु भन्ने सोचौं
सिर्जना भण्डारी

निराशा बडो भयानक हुन्छ । यो कारण एक भए पनि यसले अनगिन्ती परिणामहरु ल्याउँछ । निराशाकै कारण मान्छे मानसिक रोगी हुनुका साथै आत्महत्या समेत गर्न पुग्छ, समाज तथा देशबाट पलायन हुन्छ, स्वर्गजस्तो मातृभूमिलाई सराप्न विवश हुन्छ र भन्न थाल्छ - 'मैले यस समाज र देशमा बसेर के पाएँ, के पाउँछु, अहँ यहाँ बसेर केही हुँदैन, देशकै भविश्य छैन नागरीकको त के कुरा…' आदि ।

यस्तो सोच तपाईं हामी मध्य सबैलाई आउने गर्छ तर यसको तह भने फरक फरक हुन सक्छ । हामी किन जहिले पनि स्वार्थीपना मात्र देखाउँछौ र के पाएँ मात्र भन्छौं ? किन हामी मैले समाज र देशलाई के दिन वा गर्न सक्छु भनेर सोच्दैनौं ? यदि सबैले पाउनमात्र खोज्ने र दिन नचाहने हो भने निसन्देह भण्डार खोक्रो तथा शुन्य हुन्छ नै र यस्तो भण्डारबाट केही पाउन सक्ने त कुरै भएन । एउटा अति प्रासङ्गीक दुध पोखरीको उखान सम्झौं त - एउटा गाउँमा दुध पोखरी खनाउने भए रे । पोखरी खनीसके पछि सबै गाउँलेहरुले उक्त पोखरीमा एक एक अम्खोरा दुध हाल्ने भनेर निर्णय गरियो रे । एउटा गाउँलेले सोचेछ दुधको रङ्गको शक्ति निकै कडा हुन्छ सबै गाउँलेहरुले दुध हालेको ठाउँमा मैले एक अम्खोरा पानी लगेर हालें भने कसलाई थाहा होला र ! उसले अघिल्लो रात पोखरीमा दुधको साटो पानी हालेछ र भोलिपल्ट विहानै हेर्न गएछ । पोखरीमा त पुरै पानी मात्रै रहेछ, एक थोपा पनि दुध रहेनछ । भएछ के भने त्यही एउटा गाउँलेले जस्तै सबै गाउँलेहरुले सोचेछन् र सबैले पोखरीमा दुधको साटो पानी नै हालेछन् । र दुध पोखरी भनेको त पानी पोखरी पो बन्न पगेछ ।

वास्तवमा प्रकृति कै नियमलाई हेर्ने हो भने पनि केही नदिइकन केही माग्ने अधिकार कसैसंग पनि हुँदैन, यो त स्वार्थी र कुभलो चाहानेहरुको सोच हो तर हामी कोही पनि मुलुकका लागि स्वार्थी बन्न र कुभलो सोच्न सक्दैनौं ।
हाम्रो मुलुकको तत्कालीन अवस्था पनि यस्तै दुध पोखरीको जस्तै जस्तै छ । सबै नागरिकहरु देशबाट पाउनै मात्रै चाहन्छन्, सबै अवसर मात्र खोज्छन् तर कोही देशलाई केही दिन र अवसर संगसंगै चुनौती उठाउन चाहदैनन् र सोच्छन् म एउटाले नगर्दैमा के नै हुन्छ र ? देशका लागि गर्ने त अरु छदै छन् नि ! तर वास्तविकतामा भने त्यस्तो छैन । यहाँ सबै दुध बचाउन चाहान्छन् र दुधको साटो लुकीछिपी पानीले नै काम चलाउने गर्दछन् ठ्याकै उही दुध पोखरी जस्तो । तसर्थ यो पङतीकार पातलो मसीले पोतिएका यी अक्षरको माध्यमबाट यो आग्रह गर्न चाहन्छु कि- किन आजै देखि मुलुक भित्र र बाहिर रहेका हामी सबै नेपाली दाजुभाइ तथा दिदीवहिनीहरुले आफूले के पाएँ भन्ने सोचलाई चटक्क बिर्सेर म के दिन सक्छु भन्ने सोचलाई आत्मसाथ नगर्ने ??

आज हाम्रो मुलुक अत्यन्तै नाजुक अवस्थामा छ र असफल राष्ट्रको पंक्तिमा उभिएको छ । यसलाई दरिला हात र साथहरुको आवश्यकता छ । हामी सबै मुलुकलाई केही न केही अवस्य दिन सक्छौं । हामी सबैसंग केही न केही सिप पक्कै छ बस कमी तथा अभाब छ त दृढ संकल्पको । त्यसो भए किन त्यही सिपलाई हामी देशको उन्नती र प्रगतीका लागि उपयोग नगर्ने त ? कोदालो, सियो, कलम, पाङग्रा, डोरी आदि सबै औजार हुन् र तिनको सही उपयोग गर्नु गराउनु नै हाम्रो सिप हो । हामी सबैसंग यि मध्य कुनै न कुनै औजार तथा सिप पक्कै छन् । तसर्थ आउनुहोस आजैबाट यिनै औजार तथा सिपहरु लिएर जहाँ छौं त्यहींबाट र जसरी सक्छौं त्यसैगरी आफ्नो देश तथा समाजका लागि केही गर्न कम्मर कसौं ।

हुन त यस्तो सोच भएका केही सिमीत बौद्धिक व्यक्ति र ब्यक्तित्वहरु अझै पनि हाम्रो समाज र देशमा नभएका होइनन् तर सागरमा एक थोपा पानी हराए झैं उनीहरु पनि स्वार्थीहरुको सागरमा पौडीने प्रयास गर्दा गर्दै डुब्न पुगेका छन् तर यसो भन्दैमा हामीले हौसला भने छाड्नु हुदैन किनकी यो ध्रूव सत्य हो की सागर पनि थोपा-थोपा पानीबाट नै सिर्जित भएको हुन्छ । सकारात्मक सोच र म राष्ट्रलाई के दिन सक्छु भन्ने भावना दुध को रङ्ग जस्तै शक्तीवान हुन्छ । एक थोपा दुधले दश थोपा पानीलाई आफ्नै रङ्गमा परिणत गरे जस्तै सकारात्मक सोच भएको एक व्यक्तिले अरु दश व्यक्तिहरुलाई आफैं जस्तो बनाउन सक्छ तर यसका लागि जाँगर र दृढ संकलपको आवश्यकता पर्दछ र छाती भित्र देश दुख्नु पर्दछ ।

वास्तवमा प्रकृति कै नियमलाई हेर्ने हो भने पनि केही नदिइकन केही माग्ने अधिकार कसैसंग पनि हुँदैन, यो त स्वार्थी र कुभलो चाहानेहरुको सोच हो तर हामी कोही पनि मुलुकका लागि स्वार्थी बन्न र कुभलो सोच्न सक्दैनौं । त्यसैले आजैबाट हामी सर्वप्रथम केही दिने प्रयत्न गरौं र ततपस्चात मात्र पाउने आशा र दावी गरौं । एउटा मार्मिक र अर्थपूर्ण स्वदेश तथा जनवादी गीत छ- "गाउँ गाउँबाट हुन्छ वस्ती वस्तीबाट हुन्छ यो देशको विकास....." यो सत्य हो र आजको विज्ञान-प्रबिधि तथा सुचना र संचारको यूगमा यो गीतलाई यसरी पनि गाउन सकिन्छ- 'मन मनबाट हुन्छ कलम कलमबाट हुन्छ पाङग्रा पाङग्राबाट हुन्छ बिद्युत बिद्युतबाट हुन्छ हाम्रो देशको विकास......' होइन र ! किनकी आजको विश्वले हासील गरेको चरम विकास आखिर मानिसकै मन सोच जाँगर र संकल्प कै परिणाम त होनि । होइन र ? त्यो भन्दा पर त केही होइन नि !








Thank You
Home Page 
Send Comments
phoolbari.com@gmail.com
  Online Users


Planting for Peace and Sustainable Development. || phoolbari com
© 2008 All Rights Reserved with phoolbari.com