Special
Send Articles-kgyan09@gmail.com
Health is  Wealth    




स्वस्थ मुटुः स्वस्थ कार्यस्थल

विश्व मुटु दिवस-२००९ यसपटक असोज ११ गते परेको छ । मध्यदसैंमा सो दिवस परेकाले त्यसको अवसरमा आयोजना गरिने कार्यक्रमहरू यतिखेरै गरिन थालेको छ । सन्दर्भ विश्व मुटु दिवसको परे पनि त्यस अवसरमा आयोजित कार्यक्रमहरूमा चिन्ता र चिन्तन मुटु रोगमाथि गरिएको पाइएको छ । यो स्वभाविक हो । मुटु मानवीय जीवनको त्यस्तो अभिन्न अङ्ग हो, जसको 'स्वस्थ' अवस्थामा थोरै पनि तल-माथि पर्यो भने 'जे पनि हुन' सक्छ । मुटुले स्वस्थ रूपमा काम गरेन भने र त्यसको उपचार गर्नु परेमा उपचारको प्रविधि एवं औषधि र अस्पताल समेत अत्यन्तै महङ्गा छन् । यसै तथ्यलाई हृदयङ्गम गरी यसपटक मुटु दिवसको अवसरमा 'स्वस्थ मुटुका लागि स्वस्थ कार्यस्थल' नारा तय गरिएको छ । यसरी तय गरिएको स्वस्थ मुटुका लागि स्वस्थ कार्यस्थलको नारालाई कार्यान्वयन तहमा उतार्न हाम्रो सन्दर्भमा निक्के गाह्रो र साह्रो छ । भन्नलाई सजिलो छ आफू र आफूले काम गर्ने स्थल स्वच्छ र सफा तुल्याइनु पर्छ । कार्यस्थल स्वस्थ हुने र बनाइने कुरा हामी र हाम्रो समाजको विविध पक्षसँग ठाडै गाँसिएको हुन्छ । हामी बस्नेदेखि हिड्ने र काम गर्ने ठाउँ यति प्रदूषित छ । हाम्रो सहरी परिवेश धूलो र धुवाँले गाँजिएको अवस्था छ । औसत श्रम गर्ने श्रमिकदेखि विभिन्न कार्यालयहरूमा काम गर्ने कर्मचारीहरू पुराना खालका भवन र कार्यकक्षमा बस्न र काम गर्न वाध्य छन् । यस्तो यथार्थबीच एउटा कार्यालयको एकाध कोठाहरूमा वातानुकूलित वातावरण भएकै कारण समग्र कार्यालय र कार्यस्थल 'स्वस्थ' हुनसक्छन् भन्न सकिदैन ।

बर्सेनि करिब एक करोड ७५ लाखको हाराहारीमा मुटु रोगका कारण विश्वभर मानिसको निधन हुने जुन आँकडा छ, त्यसमा हाम्रो नेपाली दर पनि उच्च नै रहेको बताइन्छ । हामी कहाँ केवल कार्यस्थल स्वच्छ र स्वस्थ नभएकै कारणले मुटुका रोगी बढेको होइनन् । यत्रतत्रको गरिबी, बेरोजगारी एवं अशिक्षाका कारण पनि मुटु रोगीहरू बढेका छन् । एकातिर खानपानमा हामी ध्यान दिदैनौं र केवल छाक गुजारा गर्ने विवश नियतिले जे पनि खान्छौँ, अर्कोतिर भने हामी नियमित शारीरिक व्यायाम एवं श्रम गर्दैनौं ।

सत्य यही हो । त्यसमाथि अचेल त हामी र हाम्रो सहरी परिवेश बिलासितापूर्ण जीवन जिउने होडबाजीमा व्यस्त देखिन्छ । हिँडेर हुने ठाउँमा हामी 'मोटरसाइकल' चढ्छौं । मोटरसाइकलले चल्ने काममा गाडीमा गुड्छौँ । त्यस्तै कतिपय मुटुका विज्ञ चिकित्सकहरूका अनुसार सकारात्मक सोच र संस्कृति नहुँदा मुटु रोग देखा पर्ने बताइन्छ । यस्तो यथार्थमा हामी अचेल जे जसरी नकारात्मक विचार र तनावपूर्ण सोचमा दौडधूप गरिरहेका हुन्छौं, अब त्यसमाथि गम्भीर भएर सोचिनै पर्छ । हुन त कुनै पनि रोगका सन्दर्भमा रोग लागेपछिको उपचार भन्दा रोग नै लाग्न नदिने तर्फको सचेतता आवश्यक पर्छ । एक त मान्छेको अमूल्य शरीर, त्यसमाथि अभिन्न मुटु, त्यसलाई 'स्वस्थ' राखी स्वस्थ जीवन बिताउन आवश्यक पर्ने सबै खालका सतर्कतामाथि गम्भीर चिन्तन गर्दै आवश्यकीय सबै खालका बचाउ उपाय गर्नु र गराउनु श्रेयस्कार हुन्छ ।

स्रोत : www.gorkhapatra.org.np








Thank You
Home Page
Send Comments
kgyan09@gmail.com

© 2009 All Rights Reserved with phoolbari.com

Advertisements