Special
Send Articles-kgyan09@gmail.com
Health is  Wealth    




औषधि गुण भएका बालीहरू

डा.टी. पी. बराकोटी


हामीले खेती गर्दै आएका र खानामा प्रयोग गर्ने गरेका धेरै बाली बिरुवामा औषधिको गुण पाइन्छ । तिनले मानव स्वास्थ्य कायम राखी शरीर स्वस्थ राख्न ठूलो लाभ पुर्याइरहेका हुन्छन् । वनस्पतिजन्य उपजका औषधि स्वास्थ्यका लागि बढी हितकर हुन्छन् । त्यस्ता बाली बिरुवा चिनेर तिनको महत्त्व बुझेर सेवन गर्दा धेरै थरीका रोगबाट बच्न सहयोग पुग्दछ । तिनीहरूलाई आयुर्वेदले सिद्ध गरेको र आधुनिक अनुसन्धानले पनि पुष्टि गरेको पाइन्छ । औषधिजन्य कृषि बालीहरू तरकारी, मसला, खाद्यान्न, फलफूल, तेलबाली, दालबाली सबै समूहमा पर्दछन् । सबै बालीका तयारी औषधिहरूको नाम पनि यहाँ सकभर दिने प्रयत्न गरिएको छ । आयुर्वेदीय पसलहरूमा खोजेर प्रयोग गर्ने काम यहाँहरूकै हातमा छ । कुन बालीबिरुवाको कुन रोगमा लाभ पुर्याउने शक्ति वा गुण पाइन्छ सोको संक्षिप्त जानकारी यहाँ प्रस्तुत छ ।

तरकारी बाली
तरकारीमा करेला, कुरिलो, पालुङ्गो, मूला, लुँडे, बेथेमा स्वास्थ्यवर्द्धक तत्वहरू प्राप्त हुनुको साथै तिनबाट आयुर्वेदीय उपचार हुनसक्छ ।

करेलाः यसको फलको बोक्राको रस मधुमेहका रोगीलाई लाभदायी छ । यसले रुचि बढाउँछ र ज्वरोमा पनि फाइदा गर्छ ।

मूलाः यसको सबै भाग अरुचि, अजीर्ण, कब्जियत, ग्यास्टि्रक, कामला -जण्डिस), मूत्रकृच्छ -पिसाब पोल्ने), चर्मरोग सबैमा लाभदायक छ । खानेकुरा पचाउन र आँखाको ज्योति बढाउन मद्दत गर्छ । पेटसम्बन्धी रोगलाई फाइदा गर्छ । तयारी औषधिः शुष्कमूलाद्य तैल, शुष्कमूलाद्य घृत ।

पालुङ्गोः यसको पञ्चाङ्ग -पूरै बिरुवा) तरकारीमा चम्सुरसँग मिसाएर पकाउने चलन छ र स्वादिष्ट मानिन्छ । पाण्डु -रक्तअल्पता), मूत्रकृच्छको लागि फाइदाजनक छ र कामलामा पथ्य मानिन्छ ।

भेडे खुर्सानीः सलाद र तरकारी खान बाहेक पिरो खाले प्रजातिले पिसाब खुलाउन र त्वचा -छाला) मुलायम बनाउन सहयोग गर्दछ ।

बेथेः खेतबारीमा उम्रेको बेथेको साग तरकारी खान उपयोग गरिन्छ । पञ्चाङ्ग रक्त अल्पता, रगत बग्ने, कृमी -जुका परेको) को लागि उपयोगी छ ।

कुरिलोः जरीबुटीजन्य कुरिलोको कन्द पौष्टिक र तागतिलो -बल्य, टनिक) हुन्छ, दूध बढाउन मद्दत गर्छ । अम्लपित्त र हृदयरोगमा लाभ दिन्छ । यौन शक्तिवर्द्धक मानिन्छ । तरकारी खाने कुरिलोले पनि सुत्केरीलाई दूध र तागत बढाउन मद्दत गर्छ । औषधि ः शताबरी चूर्ण, शक्तिबर्द्धक योग, शतावरी घृत, नारायण तेल ।

बाँस (वंशलोचन): यसको तामा खाने चलन छ, जसमा फलाम पाइन्छ । घना भित्रको सेतो रस कास -खोकी), श्वास (दम), तृष्णा (प्यास लाग्ने), छर्दी -वान्ता), रक्तपित्त, जीर्णज्वर, दौर्बल्य आदिका लागि लाभदायक छ । तयारी औषधिः शितोपलादि चूर्ण, तालीसादि चूर्ण ।

फलफूल बाली
स्वास्थ्य सुधार तथा रोग उपचारको लागि विभिन्न फलफूल लाभदायक छन् । खेती गरिने फलफूलमा कागती, केरा, आँप, अनार, बिमिरो आदि पर्दछन् ।

कागतीः यसको फलको रस अजीर्ण, रक्तअल्पता, तृष्णा कम गर्न उपयोगी छ । साइटि्रक अम्ल, भिटामिन सी, क्याल्सियम र फस्फोरसको लागि उत्तम मानिन्छ । यसबाट निम्बुसत्व बनाइन्छ र त्यसमा अरू औषधि मिसाएर भावना दिइन्छ ।

केराः फल, फूल, पात, जरा र पानी -काण्डभित्रको) सबै उपयोगी छन् । मुख्यतः रक्तपित्त र अम्लपित्तमा लाभदायी छ । यो बल्य (बल बढाउने) र पथ्य (मधुमेहका लागि) दुवै गुणले युक्त छ । पात र फलले झाडा र एलर्जी घटाउने काम गर्छ भने अम्लपित्त र मधुमेहमा काँचो फल खानु पर्छ ।

मेवाः फल र बियाँले कमलपित्त, झाडापखाला र छालाको रोगबाट बचाउन मद्दत गर्छ ।

आँपः कोयाभित्रको गुदी -आम्रबीजमज्जा) रक्तप्रदर, श्वेतप्रदर (ल्युकोरिया), आउँ, अतिसार (पखाला) जस्ता समस्यामा उपयोगी छ । तयारी औषधिः पुष्यानुग चूर्ण, चन्दनादि चूर्ण ।

अनार (दारिम): दारिमको बोक्रा प्रवाहितका लागि उपयोगी छ । यसबाट चूर्णहरू र तेल तयार गरिन्छ, जस्तै दाडिमाष्टक चूर्ण, दाडिमचतुसम चूर्ण, लवणभाष्कर चूर्ण, दाडिमाद्य घृत, दाडिमाद्य तैल ।

बिमिरोः यसले अलकाइ -पाइल्स) मा फाइदा गर्छ । तयारी औषधिः मातुलुङ्गादि योग, बीजपुराद्य घृत ।

सरिफाः यसको फल र पात महमैनमा मिलाएर खाँदा मधुमेहमा फाइदा गर्दछ ।

तेलबाली
तिलः औषधि लाग्ने तेलबालीमा तिल प्रमुख हो । तिलको गेडा तथा तेल रजःकृच्छ (महिनावारी वा मिन्स हुँदा दुख्ने), वात रोग, केश्य -कपालमा) उपयोगी छ । तयारी औषधिः तिलादि गुडिका ।

दालबाली
गहतः दालहरूमा औषधि लाग्ने प्रमुख बाली गहत हो । यसको गेडा अश्मरी -पिसाबमा पत्थरी हुने), व्रणशोथ -घाउ सुन्निएकोमा), मूत्रकृच्छ -थोपाथोपा गरी कष्टसँग पिसाब आउने, पिसाब पोल्ने) को लागि उपयोगी छ । धेरै खाँदा अम्लपित्त गराउँछ ।

खाद्यबाली
खाद्य बालीमा फापर र जुनेलोको औषधिय महत्त्व छ ।

फापरः यसमा उच्च रक्तचाप, कोलेस्टोरेल र मुटुसम्बन्धी रोग कम गर्न सहयोगी महत्त्वपूर्ण औषधिको गुण निहित छ । तयारी औषधि भने पाइन्न ।

जुनेलोः खेती गरिने जुनेलोको जङ्गली प्रजातिले पिसाब खुलाउन र छाला मुलायम बनाउन मद्दत गर्दछ ।

मसला बाली
खेती गरिने मसला बालीहरूः अदुवा, लसुन, हलेदो -बेसार), मेथी, धनिया, ज्वानो, मरिच, जीरा, ल्वाङ, अलैंची, पिप्ला, सुकमेल, जाइफल स्वास्थ्यका लागि लाभदायी छन् । जीरा, ल्वाङ, सुकमेल, जाइफल नेपालमा खेती गरिन्न ।

अदुवाः अदुवाको कन्द वा गानो खोकी, दम, अजीर्ण, अग्निमाद्य -अपच, अरुचि) र आमवातको लागि लाभदायक छ । तयारी औषधिः आदर््रकखण्ड, त्रिकटु, सौभाग्य शुण्ठी ।

लसुनः यो अजीर्ण, शूलहर -पेट दुखेको), खोकी, आमवातमा उपयोगी छ । जराले रक्तचाप घटाउन र रगत सफा राख्न मद्दत गर्दछ । मुटुको धड्कन र हृदयाघातको जोखिम कम गर्दछ, कोलेस्टोरेल घटाउन सहयोग गर्छ । तयारी औषधिः लसुनादि बटी, रसोन वटी ।

हलेदोः यसको कन्द अभिष्यन्द -आँखा दुख्ने), शीतपित्त -छाला चिलाउने, डाब्रा आउने), आघात -चोट), घाउखटिरा, रुघाको लागि उपयोगी छ । तयारी औषधिः हरिद्रा खण्ड, निम्बादि चूर्ण, कुष्ठादि दन्तमञ्जन ।

धनियाः धनियाको गेडा र हरियो बिरुवा अरुचि, अजीर्ण, तृष्णा, वमन, ज्वरो, अतिसारका लागि उपयोगी छ । तयारी औषधिः धान्यपञ्चक क्वाथ, लवणभाष्कर चूर्ण, जेष्ठवासादि ।

मेथीः यसको साग तरकारी र बीउ मसलाको रूपमा खाइन्छ । यो मधुमेह, वेदनाहर -दुखेको कम गर्ने), सूतिकारोगका लागि उपयोगी छ, ग्यास्टि्रकमा पनि खाइन्छ । बीउमा पाइने सापोजेनिनबाट धेरै थरीका औषधि, सेक्स हर्मोन र परिवार नियोजनको खाने चक्की बनाइन्छ । तयारी औषधिः चतुर्बीज चूर्ण ।

ज्वानोः यसको गेडा अजीर्ण, पेट दुखेको, सूतिकारोगको लागि उपयोगी छ । तयारी औषधिः हिंग्वष्टक चूर्ण, जीवन विन्दु, महाशंख वटी, भुवनेश्वर वटी ।

अलैंचीः मासु र पुलाउमा मसलाको रूपमा प्रयोग गरिन्छ । बीउ अरुचि, वमन, मुखरोग, कास, श्वास, तृष्णा, वेदनाहरमा उपयोगी छ । औषधिः जेष्ठलवंगादि चूर्ण, रक्तलवंगादि चूर्ण, लवणभाष्कर चूर्ण ।

सुपः सुपको बीउ वा गेडा सुत्केरीको गर्भाशय सफा गर्न, दूध बढाउन र प्रवाहिका -आउँ) परेकोलाई उपयोग गरिन्छ । तयारी औषधिः सतपुष्पार्क, सतपुष्पादि चूर्ण ।

मरिचः यसको फल अजीर्ण, आध्मान -वायु भरिएर पेट फुल्ने), कास-श्वास, शीत-ज्वर, चर्मरोग, व्रणशोथका लागि उपयोगी छ । तयारी औषधिः त्रिकुट चूर्ण, हिंग्वष्टक चूर्ण, मरिचादि तैल, महामरिचादि तैल, मरिचाद्य घृत ।

जीराः जीराको गेडा अजीर्ण, सूतिकारोग, आमादोषका लागि उपयोगी छ । तयारी औषधिः जीरकाद्यरिष्ट, हिंग्वष्टक चूर्ण, जीरकाद्य चूर्ण, संदिपन चूर्ण, लवणभाष्कर चूर्ण ।

ल्वाङः फूलको कोपिला र फलकोे तेल दन्तशूल -दाँत दुखेको), मुखरोग, अम्लपित्त, खोकीको लागि उपयोगी छ । तयारी औषधिः जीवनबिन्दु, अविपत्तिकर चूर्ण, जेष्ठलवंगादि वटी र रक्तलवंगादि वटी ।

पिप्लाः यसको फल अजीर्ण, दम, खोकी, जीर्णज्वर -पुरानो ज्वरो) को लागि उपयोग गरिन्छ । तयारी औषधिः हिंग्वष्टक चूर्ण, लवणभाष्कर चूर्ण, रक्तलवंगादि चूर्ण, सितोपलादि चूर्ण, वालचतुर्भद्रा ।

सुकमेलः यसको फल मुखरोग, कास, श्वास, अरुचि, तृष्णा, वमन, मुत्रकृच्छ, दाह, दुर्बलतामा प्रयोग गरिन्छ । तयारी औषधिः सितोपलादि चूर्ण, अविपत्तिकर चूर्ण, च्यवनप्राशावलेह, एलादि, गुटिका चूर्ण ।

जाइफलः यसको गेडा -जाइपत्री) ग्राही -दिशा रोक्ने), वेदनास्थापन -दुखेको कम गर्ने), शीतप्रसमन -गर्मीपन ल्याउने), शुक्रस्तम्भन, अजीर्ण, शुलको लागि उपयोगी छ । तयारी औषधिः जातीफलादी चूर्ण, जातीफलादी वटी, लक्ष्मीविलास रस ।

टिम्मुरः यो दन्तरोग -दाँत दुखेको), मुखदुर्गन्ध -मुख गन्हाउने), ज्वरो, अजीर्ण, महामारी, हैजा, टाउको दुखेकोमा उपयोगी छ । गाउँघरमा रुघाखोकी, गानोगोला, पेट दुखेकोमा पनि प्रयोग गरिन्छ । तयारी औषधिः तुम्बर्वादि चूर्ण ।

अन्य बालीमा सिमीले लूतो, सिप्लिगानले पिसाब पोल्ने, सूर्यमुखीले पिसाब गर्न गारो हुनेमा लाभ पुर्याउँछन् ।

यसरी कृषि र किसानसँग सम्बन्धित थुप्रै बोट बिरुवाहरूले मानव स्वास्थ्य कायम राख्न मद्दत पुर्याइरहेका छन् । स्रोत : www.gorkhapatra.org.np








Thank You
Home Page
Send Comments
kgyan09@gmail.com

© 2009 All Rights Reserved with phoolbari.com

Advertisements