Phoolbari Logo Special
लेख पठाउनुहोस-phoolbari.com@gmail.com
 ऋतु     बसन्तऋतु     ग्रीष्मऋतु       शरदऋतु      हिउँदऋतु  
फूल बगैचा सम्बन्धी नेपालीमा लेखिएका लेख/रचना पठाउनुहोस। phoolbari.com@gmail.com

यहाँ टाइप गर्नुहोस र चाहीएको कुरा खोज्नुहोस



भित्रीय बगैँचा
सिर्जना भण्डारी






Phoolbari Logo
नेपाली समाजमा केही वर्ष अघिसम्म धार्मिक र सांस्कृतिक कार्यमा प्रयोग गरिने फूल-बिरुवाले आज व्यवसायिक रूप लिइसकेको छ। घरभित्र वा घरबाहिर फूल-बिरुवा लगाउनु धेरै मानिसहरूको शोख भइसकेको छ । फूल-बिरुवाप्रतिको लगावले मानिस प्रकृतिप्रेमी भएको प्रष्ट हुन्छ। कसैले घरआँगन सजाउनलाई फूल-बिरुवा लगाउँछन् भने कसैले बरन्डा तथा कोठाहरू सजाउन लगाउँछन्। फूल-बिरुवाकै सन्दर्भमा पनि कसैलाई फूल फुल्ने बिरुवा मन पर्छ, कसैलाई फूल नफुल्ने अथवा पातैपात मात्र भएको बिरुवा मन पर्छ त कसैलाई भने लहराजन्य बिरुवा मन परिरहेको हुन्छ।

कोर्नप्लाँट
फरकफरक मौसम तथा वातावरणमा भिन्ना भिन्नै फूल-बिरुवा हुर्कने हूँदा कुनै एक क्षेत्रमा उपलब्ध हुने बोटबिरुवा अर्को क्षेत्रमा नपाइन सक्छ र त्यसलाई बसाइँ सारियो भने पनि राम्ररी हुर्काउन सकिँदैन किनभने यसको वातावरणीय प्रकृति र प्रवृत्ति अनि आवश्यकता उक्त ठाउँमा उपलब्ध हुने भन्दा फरक किसिमको हुन्छ। बोट-बिरुवा विभिन्न थरिका हुन्छन् - एकवषिर्य, बहुवषिर्य, फूल फुल्ने, नफुल्ने, पोथ्रा, झाङ, रूख, लहरा चढ्ने तथा घिस्रीने, वर्षे, हिउँदे, जमिनमा हुने, पानीमा हुने, घाममा हुने, छायाँमा हुने आदि।
डम्बकेन
आजभोलि घरभित्र लगाइने बोटबिरुवाको बगैँचा (इनडोर गार्डेन) ले अधिकतम प्राथमिकता पाउँदै आएको छ। सोखको रूपमा बढ्दै गएको भित्रीय बगैँचा लगाउने तौरतरिका सरसर्ती हेर्दा घरबाहिर गरिने जस्तै हो तर यसलाई सूक्ष्म रूपले हेर्ने हो भने धेरै फरक पाउन सकिन्छ। घरभित्रको बगैँचा मानिसको चाहना अनुसारको ठाउँ र वातावरणमा तयार गर्नुपर्ने हुनाले त्यहाँ बिरुवाले प्राकृतिक वातावरण पाउन सक्दैन, फलस्वरूप राम्ररी हुर्कन सक्दैन। त्यसैले भित्रीय बगैँचा लगाउन विशेष मिहिनेत गर्नु पर्ने हुन्छ । यहाँ अर्को ध्यान दिनुपर्ने कुरा के पनि छ भने घरभित्र लगाइने बोटबिरुवा बाहिर लगाइनेभन्दा फरक प्रकृति र प्रवृत्तिका हुन्छन् । प्राय जसो भित्रीय बगैँचाका रूपमा प्रयोग गरिने बोटबिरुवा उष्ण क्षेत्रबाट ल्याइएका हुन्छन् जहाँको तापक्रम कठोर गर्मी देखि हिमपात हुनेसम्म हुन्छ र यी बोटबिरुवामा यस्तो वातावरण खप्न सक्ने प्रकृतिप्रदत्त क्षमता हुन्छ । यस्ता खालका बिरुवालाई मानिसको चाहना अनुसारको वातावरण - हावापानी, तापक्रम, आद्रता र प्रकाशमा सजिलै बानी पार्न सकिन्छ । घरबाहिर हुर्कने सबै बिरुवाहरूलाई घरभित्र हुर्काउन सकिँदैन तर घरभित्र हुर्काउन सकिने सबै बिरुवाहरूलाई घरबाहिर हुर्काउन सकिन्छ। यसको प्रमुख कारण प्राकृतिक र कृत्रिम वातावरण नै हो । घरभित्र त्यस्ता बिरुवा मात्र राम्ररी हुर्कन सक्छन् जो कृत्रिम वातावरणलाई सजिलै आत्मसात गर्न सक्छन्।

बोटबिरुवा राम्ररी हुर्काउन कुनै एकपक्षीय जानकारी मात्र पर्याप्त हुँदैन । त्यसका लागि विशेष गरी बोटबिरुवाका आधारभूत आवश्यकीय तत्वहरूका बारेमा जानकारी हुनुपर्दछ । कुन बिरुवा कहाँ र कसरी हुर्कन सक्छ भन्ने कुराको निर्धारण त्यहाँ उपलब्ध हुने वातावरणीय अवस्थाले गर्दछ । खासगरी बोटबिरुवाको जीवनचक्रमा निम्न पाँच वातावरणीय आधारभूत तत्वहरूको प्रमुख भूमिका रहेको हुन्छ-

१) प्रकाश        २) पानी        ३) हावा (तापक्रम र आद्रता)        ४) माटो        ५) खाना (मल)

प्रकाश-
बोटविरुवा राम्ररी हुर्कनमा प्रकाशको प्रमुख भूमिका रहेको हुन्छ । कुनै विरुवा कम प्रकाशमा पनि राम्ररी हुर्कन सक्छन् भने कुनैलाई पर्याप्त प्रकाश चाहिन्छ । जुन विरुवालाई बढी प्रकाशको आवश्यकता छ, तर त्यसले कम प्रकाश पाइरेहेको छ भने विरुवा पहेंलो भएर जाने, पातला हाँगा, मसिना पात हुने र अग्लो भएर जाने, पात पहेंला र खुइलिएका जस्ता देखिने र अन्त्यमा बिरुवा नै मर्ने हुन्छ भने जुन बिरुवालाई कम प्रकाशको आवश्यकता छ तर बढी प्रकाश पाइरहेको छ भने बिरुवा जिङरिङ्ङ परेको नराम्रो देखिने, पात कोप्रो पर्ने र गुजुमुज्ज पर्ने, पातमा काला र पहेँला थोप्ला देखिने, पातको छेउछेउमा पहेँलो र कालो घेरा देखिने, डढेको जस्तो हुने र अन्त्यमा सम्पूर्ण पात सुकेर जाने, बिरुवा नै मर्ने जस्ता समस्या देखिन्छन् । खासगरी घरभित्र लगाइने बोटबिरुवामा यस्ता समस्या बढी देखिन्छन् । घरबाहिर पूर्ण प्राकृतिक वातावरणमा हुर्किरहेको बिरुवालाई एक्कासी घरभित्रको कम प्रकाशमा लानु हुँदैन । बिस्तारै दिनको एक-दुई घण्टा गर्दै बिरुवालाई कम प्रकाशमा बानी पारेर मात्र लानु पर्दछ र यस्तै घरभित्र भइरहेको बिरुवालाई एक्कासी बाहिर ल्याउनु हुँदैन बानी पारेर मात्र घरबाहिर लानु पर्दछ नत्र माथि उल्लिखित समस्याहरू देखिन्छन्। खासगरी नर्सरीबाट किनेर ल्याइएका बिरुवाहरूमा यो सावधानी अपनाउनुपर्दछ। बिरुवा किन्दाका बखत नै बिरुवालाई दिनुपर्ने वातावरणका बारेमा सोधपुछ गरी जानकारी लिनु सबैभन्दा उपयुक्त उपाय हो। यदि सम्झन सकिदैन भने लेखेर राख्दा यो सधैँलाई काम लाग्न सक्छ। घरभित्र प्रकाशको उपलब्धतामा विविधता हुन्छ । झ्याल तथा बरन्डाको छेउमा जति प्रकाश उपलब्ध हुन्छ टाढा हुँदै जाँदा प्रकाशको उपलब्धता कम हुँदै जान्छ । प्रकाशको उपलब्धतालाई फुट क्यान्डल (Foot Candle) मा नापिन्छ । राम्रो तथा खुलेको मौसममा राम्ररी प्रकाश उपलब्ध हुने घरभित्र १०० फुट क्यान्डल भन्दा कम हुन्छ भने सोही अवस्थामा बाहिर तथा खुला आकाशमुनि १० हजार फुट क्यान्डल उपलब्ध हुन्छ । बिरुवालाई प्रकाश आवश्यकताका आधारमा चार किसिमले विभाजन गर्न सकिन्छ-

१) कम प्रकाश (१०० फुट क्यान्डल)

२) ठिक्क प्रकाश (१०० देखि १५० फुट क्यान्डल)

३) उच्च प्रकाश (१५ देखि १,००० फुट क्यान्डल)

४) अति उच्च प्रकाश (१,००० देखि १०,००० फुट क्यान्डल)

मनिप्लान्ट, रबरप्लान्ट, आइभीप्लान्ट, स्नेकप्लान्ट आदि कम प्रकाशमा घरभित्र लगाउन सकिने बिरुवा हुन् ।

मनिप्लान्ट रबरप्लान्ट
आइभीप्लान्ट स्नेकप्लान्ट
कृत्रिम तथा विद्युतीय प्रकाश-
जहाँ प्राकृतिक प्रकाश पर्याप्त हुँदैन त्यहाँ कृत्रिम प्रकाशको पनि प्रयोग गर्न सकिन्छ । यो कामलाई विद्युतीय प्रकाशले सम्भव तुल्याएको छ । हाल बजारमा विभिन्न खालका विद्युतीय बत्तीहरू किन्न पाइन्छन् जसले प्राकृतिक प्रकाशको प्रतिस्थापन गर्न सक्छन् । सूर्यको प्रकाशमा इन्द्रेनीमा देखिने सातै रङ उपलब्ध हुन्छन् र बोटबिरुवाले आवश्यकता अनुसार लिन्छन् तर विद्युतीय प्रकाशमा भने सबै रङ एउटै बत्तीमा उपलब्ध हुँदैन । विद्युतीय बत्तीहरू सेतो, रातो, निलो, बैजनी.... आदि छुट्टाछुट्टै रङमा निर्माण गरिएका हुन्छन् । बिरुवाको प्रकृति र प्रवृत्तिअनुसार प्रकाशमा पाइने रङको आवश्यकता पनि फरक-फरक हुन्छन, जस्तै- फूल फुल्ने तथा फल फल्ने बिरुवालाई बढी निलो र रातो रङको प्रकाशको आवश्यकता पर्दछ । पातजन्य बिरुवा र भर्खर उमारिएका बिरुवाहरूलाई पनि बढी निलो रङको प्रकाशको आवश्यकता पर्दछ ।

पानी-
सम्पूर्ण प्राणी तथा वनस्पतिको महत्वपूर्ण आधारभूत आवश्यक तत्व पानी हो । प्राय घरभित्र रोपिने बोटबिरुवाहरू पानी कम भएर भन्दा पानी बढी भएर राम्ररी हुर्कन नसक्ने तथा मर्ने गरेको पाइन्छ । बोट-बिरुवाहरुको विविधतासँगै पानीको आवश्यकता पनि फरक हुन्छ । पानीको आवश्यकता बिरुवाको प्रकृति, प्रवृत्तिका साथै अन्य बाहिरी वातावरणमा भरपर्दछ । केही बिरुवा पानीमै हुर्कने खालका हुन्छन्, केहीलाई अलि बढी आवश्यकता पर्छ केहीलाई चाहिँ कम । बाहिरी वातावरण तातो छ भने पानीको आवश्यकता बढी पर्दछ र चिसो वा मध्यम छ भने कम पानीको आवश्यकता पर्दछ । यस्तै बिरुवा सानो तर गमला ठूलो छ भने कम पानी र बिरुवा ठूलो र गमला सानो छ भने बढी पानीको आवश्यकता पर्दछ । पानीको आवश्यकता माटोको प्रकृतिमा पनि भरपर्दछ । यदि माटो बलौटे तथा गिर्खे खालको छ भने बढी पानी र माटो चिम्टे, लेसाइलो, पागो छ भने कम पानीको आवश्यकता पर्दछ । यस्तै माटोमा जैविक मलको मात्रा बढी मिसाइएको छ भने मध्यम तथा कम पानीको आवश्यकता पर्दछ । बोट-बिरुवा हुर्कनमा पानीको महत्वपूर्ण भूमिका हुने भए पनि पानी बढी या कम भयो भने बिरुवा मर्न पनि सक्छ । पानीको मात्रा जान्न सर्वप्रथम बिरुवाको प्रकृति र प्रवृत्ति बुझ्न जरुरी हुन्छ। गमलामा रोपिएको बिरुवामा पानी हाल्दा गमलाको प्वालबाट निस्किने बेलासम्म हाल्नुपर्दछ र प्लेटमा तहरीएको पानी फाल्नु पर्दछ र अर्को पटक पानी हाल्दा गमलाको माटोको सतहमा औँलो गाडेर विचार गरी यदि एकदेखि डेढ इन्च सुक्खा छ भने मात्र पानी हाल्नु पर्दछ र चिसो छ भने सुकुन्जेल पानी नहाले पनि हुन्छ ।

हावा-

बोटबिरुवा राम्ररी हुर्कन हावाको पनि महत्वपूर्ण भूमिका रहेको हुन्छ, वनस्पति पनि जीवित तत्व मध्ये मै पर्ने भएको कारण श्वास-प्रश्वासको प्रक्रिया यसले पनि निरन्तर गरिरहेकै हुन्छ । केही वनस्पतिबाहेक प्राय सबै वनस्पतिहरूले कार्वनडाइअक्साइड लिने र अक्सिजन फाल्ने गर्दछन्। साथै हावामा रहने तापक्रम र आद्रताले पनि बिरुवाको जीवनचक्रमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।
तापक्रम-
वातावरणमा हुने चिसो र तातोपन नै तापक्रम हो । बोटबिरुवाहरूका विभिन्न प्रकृति तथा प्रवृत्तिमध्ये तातो वा चिसोमा हुर्कने अर्को एउटा महत्वपूर्ण विशेषता हो । जस्तो वर्षे बिरुवा तातो तथा मध्यम तापक्रममा राम्ररी हुर्कन्छन् भने हिउँदे बिरुवा चिसो तापक्रम मनपराउँछन् । बढी तापक्रम चाहिने बोटबिरुवालाई तापक्रम कम भयो भने ति राम्ररी बढ्न सक्दैनन्, फूल या फम्ररी लाग्न सक्दैनन् । यसरी नै कम तापक्रम चाहिने बोटविरुवालाई तापक्रम बढी भयो भने बिरुवा जिङ्रिन्छ र मर्छ ।
आद्रता-
हावामा पाइने पानीको वाफिलो मात्रा आद्रता हो । तापक्रमको जति महत्वपूर्ण भूमिका आद्रताको नभए तापनि बोटबिरुवा हुर्कनमा यसले पनि प्रभाब परिरहेको हुन्छ । आद्रतालाई प्रतिशतमा नापिन्छ । सामान्यतया ५० प्रतिशत सापेक्षिक आद्रतामा सबै बिरुवा हुर्कन सक्छन् तर अपवादमा केही बिरुवालाई बढी आद्रता (९० प्रतिशत सम्म) आवश्यक पर्छ भने केही बिरुवालाई कम (१०-२० प्रतिशत) मात्र भए पुग्छ । तातो तापक्रममा हुर्कने बिरुवालाई बढी आद्रता चाहिन्छ र चिसोमा हुर्कनेलाई कम आद्रता चाहिन्छ । सबैजसो घरभित्र प्राय १५ देखि २५ प्रतिशत आद्रता उपलब्ध हुन्छ तसर्थ भित्र रोपिने बिरुवा चयन गर्दा यस कुरालाई ध्यानमा राख्नुपर्ने हुन्छ। बढी आद्रता मनपराउने बिरुवा भए घरभित्र उपलब्ध हुने आद्रतामा बानी पारेर मात्र राम्ररी हुर्काउन सकिन्छ् । आद्रता कम भयो भने पातको रङ अर्कै हुने, पात कोप्रीने, पहेँलो हुने, बिरुवा नबढ्ने जस्ता लक्षण देखाउँछन् । एकवषिर्य बिरुवालाई यसबारे उति ध्यान दिनु पर्दैन तर बहुवषिर्य बिरुवालाई भने ध्यान दिनुपर्ने हुन्छ । बहुवषिर्य बिरुवाहरू तातो तथा न्यनों तापक्रम र बढी आद्रतामा छिटो-छिटो हुर्कने र चिसो तापक्रम र कम आद्रतामा विस्तारै हुर्किने खालका हुन्छन् भने केही यसको विपरीत हुन्छन् । घरभित्रको तापक्रम र आद्रतालाई कृत्रिम रूपले मिलाएर बिरुवालाई सदाबहार रूपमा हुर्काउन पनि सकिन्छ । नर्सरी तथा ग्रीन हाउसहरूमा यसो गर्ने गरिन्छ ।
माटो-
बोटबिरुवा हुर्कनमा अर्को प्रत्यक्ष सम्बन्ध राख्ने तत्व माटो पनि हो । भिन्न भिन्न बोटबिरुवाहरूलाई राम्ररी हुर्कन भिन्न भिन्नै प्रकृतिको माटो चाहिन्छ । बढी पानी चाहिने बिरुवालाई अलि खँदिलो माटो, जस्तै चिम्टयाइलो, पाँगो आदिमा रोप्दा राम्ररी हुर्कन्छन् त्यस्तै कम पानी चाहिने बिरुवालाई खुकुलो तथा माटोको मात्र कम भएको जस्तै बलौटे तथा कङ्कड आदिमा रोप्दा बिरुवा राम्ररी हुर्कन्छन् । क्याकटस, सुकुलेन्ट आदि जातका बिरुवालाई कम पानी चाहिने हुँदा बलौटे माटोमा रोपिन्छ । अर्किडजस्ता हावाबाट पौष्टिकतत्व लिने बिरुवाहरूलाई माटोको आवश्यकता नै पर्दैन । यस्ता बोटबिरुवालाई ढुङ्गा, इँटाका चोइटा, नरिवलको जट्टा आदिमा रोपिन्छ । बोटबिरुवा हुर्कनमा माटोको प्रकृति अर्थात पि. एच.(Soil pH-अमिलो माटो, गुलियो माटो र सामान्य माटो) को पनि महत्वपूर्ण भूमिका रहेको हुन्छ । केही बोटबिरुवा अम्लीय माटो (Acid soil)मा राम्ररी हुर्कन्छन् भने केही हुर्कन नसकी मर्छन् पनि । सामान्यतया माटोमा धेरै विविधता हुने हुँदा यसबारे केही जानकारी लिएर बिरुवा लगाउँदा सफलता पाउन सकिन्छ ।

खाना (मल)-
बिरुवा हुर्कनका लागि खाना तथा मलको पनि महत्वपूर्ण भूमिका रहेको हुन्छ । बिरुवा माटोमा जरा गाडेर हुर्कने भए पनि यसले माटो खाँदैन । माटोको काम बिरुवालाई खाना लिन सहयोग गर्नु मात्र हो । बिरुवाले जराको माध्यमबाट पानी, हावा तथा खाना लिने गर्दछ जुन हामीले माटोमा हाल्ने गर्दछौँ । बिरुवाको प्रकृतिअनुसार भिन्न भिन्न बिरुवाले भिन्न भिन्न मल रुचाउँछन् । मलका किसिम धेरै भए पनि मुख्य रूपले मललाई तीन किसिमले विभाजन गरिएको छ-

१) नाइट्रोजन

२) फस्फोरस

३) पोटासियम

नाइट्रोजन- नाइट्रोजन बिरुवाको सबभन्दा महत्वपूर्ण खाना हो । यसबाट प्रोटिन प्राप्त हुन्छ । प्रोटिनले बिरुवा हरियो हुन हाँगा तथा डाँठ मोटा, बलिया हुन, रोग तथा झारसँग लड्ने क्षमता बढाउन मद्दत गर्दछ । यो बिरुवाका लागि नभई नहुने तत्व भए तापनि बढी भयो भने बिरुवा मर्न पनि सक्छ ।
फस्फोरस- नाइट्रोजन पछि फस्फोरस दोस्रो महत्वपूर्ण तत्व हो जसबाट बिरुवालाई कार्बोहाइड्रेड प्राप्त हुन्छ । फस्फोरसले जरा फैलाइ बिरुवा अटल र बलियो बनाउन र निरन्तर जराको काम सुचारु गरिरहन मद्दत गर्दछ । जसबाट बिरुवा स्वस्थ र तन्दुरुस्त रहन्छ साथै फूल, फल, दाना लाग्न र भरिलो हुन पनि यसले सहयोग गर्दछ ।
पोटासियम- पोटासियमबाट खनिजतत्व प्राप्त हुन्छ जसले बिरुवालाई रोग र झारसँग लड्ने क्षमता प्रदान गर्नुका साथै फूल, फल दाना भरिलो हुन सहयोग गर्दछ । पातजन्य बिरुवाका लागि पोटासियम तत्व त्यति उत्तम मानिँदैन जति नाइट्रोजनको आवश्यकता पर्दछ। हिजोआज बजारमा माथिका तीन तत्वहरु आवश्यकीय मात्रा अनुसार मिलाइएका थरिथरिका मलहरु पाइन्छन् जो नम्बरमा लेखिएका हुन्छन् जस्तै एन. पि. के. - २०-१०-१०।
लौ त हामी पनि घरभित्रै विरुवा हुर्काऔं, जसबाट तपाईको घरको शोभा मात्र बढने हैन, तपाईंलाई मानसिक शान्ति पनि मिलिरहेको हुन्छ ।








धन्यवाद
फूलबारी मुख्यपृष्ठ || नेपाली मुख्यपृष्ठ || इ-मन्दिर मुख्यपृष्ठ || मनोरन्जन मुख्यपृष्ठ

प्रतिक्रिया पठाउनुहोस
phoolbari.com@gmail.com
जना अनलाइनमा


दिगो बिकास दिगो शान्तिका लागि बोटबिरुवा लगाऔं।    फूलबारीकम || phoolbari com
सर्बाधिकार फूलबारी डटकमसँग सुरक्षित | ब्यबस्थापन: सिर्जना भण्डारी | सहयोगी: श्री भुवनेश्वर भण्डारी, श्री हरिशचन्द्र घिमिरे,  मुकेश घिमिरे

बिज्ञापनहरू