Phoolbari Logo Special
लेख पठाउनुहोस-phoolbari.com@gmail.com
 ऋतु     बसन्तऋतु     ग्रीष्मऋतु       शरदऋतु      हिउँदऋतु  
फूल बगैचा सम्बन्धी नेपालीमा लेखिएका लेख/रचना पठाउनुहोस। phoolbari.com@gmail.com

यहाँ टाइप गर्नुहोस र चाहीएको कुरा खोज्नुहोस



लोकप्रिय विरुवा पिटुनिया
प्रतिमा ढकाल



पिटुनिया

ढकमक्क फूल फूल्ने एकवर्षीय विरुवा पिटुनिया(Petunia) सर्वाधिक लोकप्रिय विरुवा हो। पिटुनिया बिभिन्न किसीम र रंगमा पाईन्छ। यसले मध्यम तथा न्यानो तापक्रम बढी रुचाउछ। किसीम तथा प्रजाति अनुसार पिटुनियाका विरुवा, फुल र पातका आकार, प्रकार तथा रंगमा ब्यापक बिबिधता पाईन्छ। पिटुनिया का विरुवा होचा (४-८ ईन्च), अग्ला (१८-२० ईन्च) र घिस्रिने तथा लहरे प्रकृतिका छन्। तेस्तै पिटुनियाका फुल साना (२ ईन्च गोलाई), ठुला (७ ईन्च गोलाई), केही फक्रक्क फक्रिएका, केही माईक जस्ता देखिने, केही फूलका पत्रका छेउमा बुट्टा तथा दाँति परेका, केही सादा खालका एकपत्रे (सिङ्गल) र गुजमुज्ज परेका बहुपत्रे (कार्नेसन जस्ता देखिने) आकर्षक फूल ढकमक्क भई फूल्दछन्। पिटुनिया हरियो रंग बाहेक प्राय सबै रंगका (एकै रंगका र दुई रंग मिसिएका) फूल फूल्दछन्।

लहरे पिटुनिया

पिटुनिया फूल फूल्ने एकवर्षीय बोटविरुवाहरु मध्ये सर्वाधिक हाईब्रिड र कल्टिभर गरिएका बोटविरुवाहरु मध्ये पर्दछ। बिउ बाट सोझै उमार्न सकिने र हुर्काउन अति सजिलो यो विरुवा उति चिसो सहन नसक्ने हुनाले यो कम सहनशील (Half Hardy) एक वर्षीय बोटविरुवाका बर्गमा पर्दछ र यसले धेरै चिसो सहन सक्दैन। हिउँद अत्याधिक चिसो हुने क्षेात्रहरुमा बसन्तऋतुमा दिन तातेपछि मात्र बाहिर बिउ छर्नु पर्दछ। यस्ता क्षेत्रका फूलविरुवा प्रेमीहरुले घर तताउने प्रबिधि (हिटिङ्ग सिस्टम) उपलब्ध छ भने बसन्त ऋतुमा पर्ने अन्तिम तुषारो तथा हिउँ भन्दा तिन-चार हप्ता अघि घर भित्रै पनि बिउ उमार्न सक्नुहुन्छ। तर मध्यम हिउँदऋतु (सामान्य चिसो हुने क्षेत्र) हुने क्षेत्रमा सरदऋतु को शुरु देखिनै सोझै बगैँचामा बिउ छरि बसन्तऋतुको अन्त्यसम्म उहि विरुवा उचित हेरबिचार गरी राम्ररी हुर्काउन र फुलाउन सकिन्छ।

भिरालो ठाऊँमा पिटुनिया

पिटुनियाका बिउ तथा दाना अत्यन्त मसिना हुने भएकाले राम्ररी डल्ला फुटाईएको, हलुका तथा खुकुलो र राम्ररी पानी तहरिने बलौटे माटोमा छर्नु पर्छ। यसलाई उम्रिन प्रकाश चाहिनेहुँदा बिउ माटोले छोप्नु हुँदैन तर केही थेप्चो चिजको सहयोगले बिउ छरिएको माटोको सतह हल्का थिच्नु पर्छ। पिटुनिया अत्याधिक हाईब्रिड र कल्टिमर गरीएका हुनाले फरक फरक तापक्रम र जलवायुमा हुर्कन सक्ने क्षमता भएका किसीम किसीमका विरुवाहरु बजारमा उपलब्ध छन्। आफ्नो ईच्छा अनुसार पिटुनिया को ब्रिड र स्थानिय मौसम अनुशार कल्टिमर छान्न सकिन्छ। पिटुनिया मात्रै यस्तो विरुवा हो जसका कलिला विरुवाहरुले पनि प्रचण्ड घाम तथा उच्च प्रकाश सहन सक्छन्। यसलाई राम्ररी हुर्कन, धेरै कोपिला लाग्न र पूर्ण रुपमा फूल फूल्न उच्च प्रकाशको आवश्यकता पर्दछ। र केही कल्टिमर छायाँमा पनि राम्ररी हुर्कन्छन् र फूल्छन्।

बहुपत्रे पिटुनिया

पर्याप्त प्रकाश भएन भने बोट अग्लो भएर जाने, समयमा नफूल्ने, फूले पनि कम फूल्ने र वास्तविक रङ्ग भन्दा खुईलिएको वा उडेको जस्तो फूल्ने र कम तथा साना फूल फूल्ने आदि लक्षण देखाउँछन्। राम्ररी र छिटो पानी तरिने माटो मन पराउने पिटुनियालाई उच्च प्रकाशको आवश्यकता परे पनि पानी भने ठिक्क मात्रामा आवश्यकता पर्दछ। विरुवाको जरामाथिको माटोको सतह एक वा दुई ईन्च सुख्खा भए पछि मात्र पुनः पानी हाल्नु पर्छ। पानी बढी भएमा विरुवा पहेलिने र जरा कुहिएर मर्ने आदि समस्या देखिन्छन्। भुईँमा रोपिएका पिटुनियालाई भन्दा गमलामा रोपिएकाहरुलाई पानीको मात्रा बारे विशेष ध्यान दिनु पर्छ। कोपिला लाग्ने र फूल फूल्ने समयमा अलि चाँडै-चाँडै पानी हाल्नु पर्छ। सकेसम्म विरुवामा पानी बिहानको समयमा हाल्नु उपयुक्त हुन्छ। पानी हाल्दा सकेसम्म फुल तथा पातमा पार्नु हुदैन। फुल तथा पातमा पानी परेमा दाग बसि विरुवा र फूल नराम्रो देखिनु को साथै कुहिने र ढुसि जन्य रोग लाग्ने सम्भावना बढी हुन्छ। समय समयमा गोडमेल गर्ने र विरुवा कलिलै छँदा मुन्टा चिमोट्ने गर्नाले विरुवा झाँगिनुका साथै धेरै र गुणस्तरिय फूल फूल्छन्। सुकेका पात तथा फूलिसकेका फूल काटिदिनाले लामो समयसम्म फूलिरहनुका साथै विरुवा सफा र आकर्षक देखिन्छ र रोग तथा किराको आक्रमणको खतरा पनि कम हुन्छ।

एकपत्रे दुई रंग मिसिएका पिटुनिया

हाल बजारमा बेचिने प्रायः सबै जसो पिटुनिया हाईब्रिड भएकाले तिनमा बिउ लाग्दैनन् र लागे पनि ति बिउबाट उम्रने विरुवा र त्यसमा फूल्ने फूलको गुणस्तर र आकर्षण कम हुन्छ। तसर्थ पिटुनियाको बिउ नराख्न सल्लाह दिईन्छ। लामो समयसम्म ढकमक्क फूल फूलिरहने हुनाले प्रायः सबै ठाउँ र सबै उदेश्यका लागि पिटुनिया को प्रयोग गर्न सकिन्छ। विशेष गरी होचा खालका पिटुनियाका विरुवाहरुलाई बगैँचाको छेउ छेउमा (Edging), एकै नासे बगैचामा (Bedding), अग्ला

एकपत्रे दुई रंग मिसिएका पिटुनिया

खालका पिटुनियाका विरुवाहरुलाई अन्य विरुवाहरुका बिचमा मिसाएर, बगैचाको भित्तातिर आदि ठाउँमा रोप्ने गरिन्छ। घिस्रने तथा झुन्डिने जातका पिटुनियालाई झुन्ड्याउने गमलामा रोपि आकर्षक रुपमा प्रस्तुत गरी घर आँगन र बार्दलि सजाउन सकिन्छ। हल्का बलौटे तथा गिर्खे माटो मनपराउने, कम पानीको आवश्यकता पर्ने र जस्तो सुकै घाम सहन सक्ने भएकाले बढी घाम पर्ने जुनसुकै ठाउँ, ढुङ्गे बगैँचा, भिरालो आदि ठाउँमा सफलतापुर्वक हुर्काउन सकिन्छ। पिटुनिया सानो खालको विरुवा भएकाले गमलामा पनि उत्तिकै सफलतापुर्वक आकर्षक रुपमा हुर्काउन सकिन्छ। बहुपत्रे भन्दा एकपत्रे पिटुनियाले बढी घाम, पानी, हावा सहन सक्ने र लामो समयसम्म फूल्ने भएकाले र फूलका रङ्ग र आकार प्रकारमा बढी बिभिधता भएकाले एकपत्रे पिटुनिया बढी लोकपृय छन।

कार्पेट(carpet), ड्रीम(dream), मेरिलीन(merilin), सुपरक्यसकेड(supercascade), अल्ट्रा(ultra) आदि पिटुनिया का लोकप्रिय किसिमहरु हुन।








धन्यवाद
फूलबारी मुख्यपृष्ठ || नेपाली मुख्यपृष्ठ || इ-मन्दिर मुख्यपृष्ठ || मनोरन्जन मुख्यपृष्ठ

प्रतिक्रिया पठाउनुहोस
phoolbari.com@gmail.com
जना अनलाइनमा


दिगो बिकास दिगो शान्तिका लागि बोटबिरुवा लगाऔं।    फूलबारीकम || phoolbari com
सर्बाधिकार फूलबारी डटकमसँग सुरक्षित | ब्यबस्थापन: सिर्जना भण्डारी | सहयोगी: श्री भुवनेश्वर भण्डारी, श्री हरिशचन्द्र घिमिरे,  मुकेश घिमिरे

बिज्ञापनहरू