Phoolbari Logo Special
लेख पठाउनुहोस-phoolbari.com@gmail.com
 ऋतु     बसन्तऋतु     ग्रीष्मऋतु       शरदऋतु      हिउँदऋतु  
फूल बगैचा सम्बन्धी नेपालीमा लेखिएका लेख/रचना पठाउनुहोस। phoolbari.com@gmail.com

यहाँ टाइप गर्नुहोस र चाहीएको कुरा खोज्नुहोस



बसन्त बगैचा
सिर्जना भण्डारी

Phoolbari Logo
एकवर्षिय बोटबिरुवाहरुको हुर्कने समयावधि र प्रकृतिमा तापक्रम र ऋतुको महत्वपूर्ण प्रभाव रहेको हुन्छ। यसै आधारमा मौसम तथा ऋतुअनुसार बोटबिरुवाहरुको विभाजन गरिएको छ। एकवर्षिय बोटबिरुवाहरुको जीवन अवधि छोटो हुने र समय सकिएपछि मर्ने भए पनि चाँडै हुर्कने र ढकमक्क फुल्ने र प्राय सबै रंग, आकारप्रकारमा पाइने, हुर्काउन अति सजिला र सस्ता हुने भएकोले यस्ता बोटबिरुवाहरुको महत्व र लोकप्रियता अन्य बोटबिरुवाको तुलनामा छुट्टै रहेको छ। बोटबिरुवाहरुको प्रजाति र प्रकृतिअनुसार केही मध्यम तथा तातो तापक्रम रुचाउँछन् त केही ठण्डा तापक्रम रुचाउँछन् भने केही अलि बढी नै तातो पनि सहन सक्छन् र राम्ररी हुर्कन्छन्, केही बढी चिसो सहन सक्छन् र चिसैमा राम्ररी हुर्कन्छन्। मध्यम खालको हिउँद ऋतु हुने क्षेत्रहरुमा बिरुवा छान्न त्यति ध्यान दिनु पर्दैन जति चिसो हिउँद ऋतु हुने क्षेत्रहरु (तुषारो र हिउँ पर्ने) मा दिनुपर्छ। चिसो हिउँद हुने क्षेत्रहरुमा बसन्त ऋतु पनि चिसै हुने हुँदा चिसो सहन सक्ने खालका सहनशील बोटबिरुवा मात्र छान्नुपर्छ तर मध्यम हिउँद हुने क्षेत्रहरुमा शरद ऋतुको शुरुदेखि वसन्तु ऋतुको अन्त्यसम्म केही संवेदनशील बिरुवाहरु (बढी चिसो सहन नसक्ने) बाहेक सबैजसो एकवर्षिय बोटबिरुवाहरु हुर्काउन सकिन्छ। मध्यम र चिसो हिउँद हुने दुवै खालका क्षेत्रमा हुर्काउन सकिने केही लोकप्रिय र हुर्काउन सजिला सहनशील बोटबिरुवाहरु निम्नअनुसार छन्-

क्यालेन्ड्यूला

क्यालेन्ड्यूला

'क्यालेनड्यूला' प्रजातिमा पर्ने यस बिरुवालाई नेपालीमा असर्फी फूल भन्ने गरिन्छ। यो बिरुवा सामान्यतया १८ देखि २० इन्च अग्लो हुन्छ। यसमा प्राकृतिक रुपमा पहेंलो र सुन्तले रंगका फूल फुल्ने भए पनि हिजोआज हाइब्रिड गरी होचा, मझौला बोट र बिभिन्न आकार तथा रंग- सेता, पहेला, क्रीम, सुन्तले, सुनौला, पिच आदि रंगमा निकालिएका पाइन्छन्। यो बिरुवाले सामान्य चिसोदेखि अति चिसो (माइनस तापक्रम सम्म) सहन सक्छ र हल्का तातोमा पनि राम्ररी हुर्कन्छ। हुर्काउन अति सजिलो यो बिरुवा दिनभरि घाम लाग्ने, राम्ररी पानी तैरिने, मलिलो माटोमा थोरै हेरविचारमै पनि राम्ररी हुर्कन्छ र ढकमक्क भई फुल्छ। विशेष गरी कोपिला लाग्ने र फूल फुल्ने समयमा नियमित रुपमा पानी हाल्नुपर्छ। धेरै बाक्लो भयो भने बोट झांगिन नसक्ने र राम्ररी नफुल्ने हुँदा करिब १० देखि १५ इन्चको फरक पारी बिरुवा रोप्नुपर्छ। यसले मध्यम खालको चिसो बढी मन पराउने हुँदा शरद र वसन्त ऋतुमा वर्षको दुई पटक राम्ररी फुलाउन सकिन्छ। वसन्त ऋतुमा दिन न्यानो भई बारीको माटो तातेपछि बीउ छर्नु पर्दछ र शरद ऋतुमा तापक्रम अलि चिसो हुन थालेपिछ बीउ छर्नु पर्दछ। यसले चिसो बढी मनपराउने हुनाले र शरद ऋतुमा क्रमशः चिसो बढ्दै जाने हुनाले वसन्त ऋतुमा लगाइएको भन्दा शरदमा लगाइएको बिरुवा राम्ररी हुर्कनुका साथै ठूला तथा आकर्षक फूल फुल्छन्। समय-समयमा गोडमेल गर्ने मल हाल्ने सुकेका पात तथा फुलिसकेका फूल काटेर फाल्ने गर्नुपर्छ। यसो गर्दा बिरुवा राम्ररी हुर्कने र लामो समयसम्म ढकमक्क भई फूलीरहनुका साथै बिरुवा सफा र आकर्षक पनि देखिन्छ। बिरुवा कलिलो हुँदै मुन्टा चिमोट्दा बोट झांगिन्छ र फूल धेरै फुल्छ तर कोपिला लाग्ने समयमा चिमोट्नु हुँदैन। यसो गर्दा कोपिला लाग्न र फुल्न ढिलो हुँन्छ। बीउ पकाउने हो भने फुलिसकेका फूलहरु बोटमै पाक्न दिनुपर्छ। यो फूललाई बगैंचाको छेउछेउमा, बीचबीचमा, खाली ठाउँमा, एकैनासे बगैंचामा र गमलामा रोपी कौसी तथा झ्याल बाहिर र घरभित्र फुलदानीमा सजाउन आदि किसिमले यस बिरुवा र फूलको प्रयोग बढी हुने गर्दछ। आयुर्वेदिक औषधिका साथै सलादका रुपमा पनि यस बिरुवाका पात फूल र बीउको प्रयोग हुने गर्छ।

लार्कसपुर

लार्कसपुर

'डेल्फिनियम' प्रजातिमा पर्ने लार्कसपुर बिरुवा प्राकृतिक रुपमा दुई देखि चार फिटसम्म अग्ला हुन्छन्। हलक्क ठाडो बढ्ने यो बिरुवा प्राकृतिकरुपमै आफैं हाँगा हाल्दछन् र मास्तिर फर्केको डाँठमा झपक्क कोपिला लाग्छन् र बिरुवा बढ्दै जाँदा विस्तार तलदेखि माथि हुँदै सेता, गुलाबी, निला र प्याजी रंगका फूल फक्रँदै जान्छन्। बिरुवा अग्लो बनाउन र बीचको एउटा मात्र डाँठमा झपक्क धेरै र ठूला फूल फुलाउन छेउछेउका सहायक हाँगा भाँच्ने गरिन्छ र फराकिलो पार्नका लागि बिरुवा कलिलै हुँदा मुन्टा चिमोटिन्छ। यो अति छिटो बढ्ने बिरुवा भएकाले प्रशस्त पानी हाल्नुपर्दछ। यो बिरुवाले ठाउँ सारेको उति मन नपराउने हुनाले सकेसम्म जहाँ बिरुवा रोप्ने हो त्यहिं बीउ राख्नुपर्दछ। यदि सार्नु नै पर्ने भए जरा वरिपरिको माटो अलि धेरै खनेर सार्नुपर्दछ र राम्ररी स्थापित नहुन्जेल प्रशस्त पानी हाल्नुपर्छ। यो बिरुवा अग्लो हुने प्रकृतिको तर नाजुक भएका कारण हावाको वेग तथा फूलको भारले नलडोस् भन्नका लागि टेको लगाई हल्का गरी डोरीले बाँध्नुपर्दछ। साथै अलि बाक्लो (आठ देखि बार इन्च) फरक गरी रोप्दा एकअर्काको सहयोगका कारण सामान्य परिस्थितिमा लड्दैनन्। लार्कसपुर अग्ला र हाइब्रिड गरी होचा बनाइएका दुवै किसिममा पाइन्छन्। वसन्त ऋतुमा दिन तातेपछि र माटो सुकेपिछ सोझै बारीमा बीउ छर्न सकिन्छ र शरद ऋतुमा दिन चिसो हुन थालेपछि बीउ छर्नुपर्दछ। यो बिरुवाले चिसो रुचाउने र बढी चिसो (माइनस तापक्रम) पनि सहन सक्ने हुनाले शरद ऋतुमा लगाइएको बिरुवा हिउँदभिर फुलिरहन्छन्। अग्लाखाले बिरुवाहरु बगैंचाको भित्तापट्टि रोप्दा आकर्षक देखिन्छन् भने होचा खालका बिरुवा बगैंचाको छेउछेउ, बीचबीचका खाली ठाउँ र एकैनासे बगैंचा आदिमा आकर्षक देखिन्छन्।

स्वीट एलजुम

स्वीट एलजुम

'लोवुलारिया मारीटिमा' प्रजातिमा पर्ने स्वीट एलजुम होचो (४ देखि ८ इन्च) खालको बिरुवा हो। कलेजी प्याजी सेतो रंगमा भुईमै टाँसिएर मसिनो फुल ढकमक्क भै फुल्छ। मध्यम खालको हिउँद ऋतु हुने क्षेत्रहरुमा यसलाई बहुवर्षीय बिरुवाका रुपमा रोपिन्छ र लामो समयसम्म फुलिरहन्छ। बढी तातो तापक्रममा फुल्दैन तर चिसो बढ्दै गएपछि पुनः फुल्न थाल्छ। केही समयसम्म सुख्खा (विनापानी) सहन सक्ने भए पनि बिरुवा होचो हुने र जरा माटोमा धेरै गहिरो जान नसक्ने हुनाले समयसमयमा विचार गरी पानी हाल्नुपर्दछ। विशेषगरी फूल फुल्ने समयमा बढी पानीको आवश्यकता पर्दछ। मध्यम हिउँद हुने क्षेत्रहरुमा फूल पाकेपछि आफैं बीउ छरिन्छन् र समय आएपछि आफैं उमि्रन्छन्। यसरी उमि्रएका बिरुवाहरुलाई नै छाँटेर वा सारेर हुर्काउन सकिन्छ। बिरुवा सार्दा सानो तथा कलिलो छँदै सार्नुपर्छ। सामान्य चिसोमा राम्ररी हुर्कन सक्ने र केही हदसम्म तातो तापक्रम पनि सहन सक्ने हुँदा वसन्त ऋतुमा रोपिएको बिरुवा ग्रीष्म ऋतुको तातोमा नफुले पनि मर्दैन र सरद ऋतुमा चिसो बढ्दै गएपिछ पुनः हुर्कन र फुल्न थाल्छ। होचो बिरुवा भएको हुनाले यसको प्रयोग धेरै किसिमले गर्ने गरिन्छ। भुइँ ढाक्ने उद्देश्यले बिभिन्न रंग मिसाएर भुइँ तथा गमलाको अग्लो बिरुवाको मुन्तिर गोलाकार पारेर, भुइँमा राख्ने गमलामा, झुन्ड्याइने गमलामा, हल्का सुख्खा पनि सहन सक्ने भएकाले ढुंगे बगैंचामा, ओसिलो भित्तामा, ढुंगा तथा पर्खालका चेपमा र भिरालो परेको ठाउँमा इच्छाअनुसार रोपेर यस बिरुवाको भरपूर उपयोग गर्न सकिन्छ। सफलतापूर्वक बोटबिरुवा हुर्काउनु त्यति सजिलो काम होइन तर केही आधारभूत पक्षहरुमा ध्यान दिई त्यसैअनुसार गर्दा अप्ठ्यारो पनि छैन। कुनै पनि काम थाल्दा आवश्यक विषयगत जानकारीविना त्यस कार्यमा सफलता पाउनु प्रायः असम्भव नै हुन्छ र बोटबिरुवाहरु सफलतापूर्वक हुर्काउने काममा पनि यो तथ्यको उत्तिकै महत्वपूर्ण भूमिका रहेको हुन्छ। बोटबिरुवाहरु पनि जीवित वस्तु भएकाले यिनलाई सन्तुलित रुपमा हुर्काउन कुनै एक पक्षको मात्र जानकारी पर्याप्त हुँदैन। यसका लागि क्षेत्रीय वातावरण, जलवायु, बोटबिरुवाका प्रकृति, प्रजाति, रैथाने स्थान, आधारभूत आवश्यकता आदिका बारे पूर्वजानकारी लिनु आवश्यक हुन्छ। बोटबिरुवाका प्रकृतिअनुसार तिनका आधारभूत आवश्यकताहरु- प्रकाश, तापक्रम, हावा, आद्रता, पानी, माटो, मल र तिनका आवश्यकीय मात्राहरु पनि फरकफरक हुन्छन्। बोटबिरुवाका सामान्य प्रकृतिहरुमा- बढी प्रकाश रुचाउने, छायाँमा हुर्कन रुचाउने, चिसो तापक्रम रुचाउने, तातो तापक्रम रुचाउने, बलौटे वा गिर्खे वा सुख्खा माटो रुचाउने खँदिलो माटो र बढी चिस्यान अर्थात् बढी पानी रुचाउने, कम तथा बढी पानी रुचाउने आदि हुन्। बोटबिरुवाका यस्ता प्रकृति विचार गरी सकेसम्म तिनका प्रकृतिअनुसारकै वातावरण मिलाउने कोसिस गर्नुपर्छ।








धन्यवाद
फूलबारी मुख्यपृष्ठ || नेपाली मुख्यपृष्ठ || इ-मन्दिर मुख्यपृष्ठ || मनोरन्जन मुख्यपृष्ठ

प्रतिक्रिया पठाउनुहोस
phoolbari.com@gmail.com
जना अनलाइनमा


दिगो बिकास दिगो शान्तिका लागि बोटबिरुवा लगाऔं।    फूलबारीकम || phoolbari com
सर्बाधिकार फूलबारी डटकमसँग सुरक्षित | ब्यबस्थापन: सिर्जना भण्डारी | सहयोगी: श्री भुवनेश्वर भण्डारी, श्री हरिशचन्द्र घिमिरे,  मुकेश घिमिरे

बिज्ञापनहरू