Phoolbari Logo Special
लेख पठाउनुहोस-phoolbari.com@gmail.com
 ऋतु      बसन्तऋतु     ग्रीष्मऋतु       शरदऋतु      हिउँदऋतु  
बिज्ञापन बिज्ञापन बिज्ञापन




नेपालमा पुष्प व्यवसाय
उत्तमप्रसाद बाग्ले

Phoolbari Logo

तेस्रो विश्वको सूचिमा पर्ने नेपाल प्राकृतिक रुपमा ज्यादै धनी भएपनि आर्थिक दृष्टिकोणले अझै सयौं पाइला पछाडि नै रहेको छ । तसर्थ आर्थिक रुपले पछाडि परेका जनताको आर्थिक विकासको लागि पुष्प व्यवसाय अर्थात फ्लोरिकल्चरलाई हितकारी मान्न सकिन्छ । नेपालमा केही वर्ष अगाडी सम्म शुन्यको अवस्था रहेको यो व्यवसाय हालका दिनमा आएर आय आर्जनको एक सफल स्रोतको रुपमा स्थापित हुँदै आएको पाइन्छ । हरेक गोष्ठि, सेमिनार, उत्सव, महोत्सव, विवाह, व्रतबन्ध तथा अन्य शुभकार्य हुन वा शोक तथा श्रद्धान्जली जस्ता दुःखका क्षण हुन् हरेक ठाउँमा यसको आवश्यकता बढ्दै गएको छ । तसर्थ केहि वर्ष अगाडी सम्म देवी देवतालाई पूजा गर्न र प्रसादका रुपमा मात्र प्रयोगमा आउने फूल आजको दिनमा आइपुग्दा व्यवसायिकता तर्फ अग्रसर भएको सजिलै अनुमान गर्न सकिन्छ ।

विगत केही वर्ष अगाडीसम्म घरानिया परिवारका घर-करेशा मात्र सजाएर शोभायमान हुने फूलहरु आज मध्यम वर्गिय परिवारका घर आगनमा समेत सजिलै देख्न सकिन्छ । नेपालमा फूल व्यवसायलाई प्रबर्दन गर्दै व्यावसायिक रुपमा लागेका व्यक्तिहरुको संख्या पनि सयौ पुगी सकेका छन् र तिनको बढ्ने क्रमले पनि निरन्तरता पाइराखेको छ । यसरी वर्तमानमा यस व्यवसायको अवस्थालाई हेर्दा यसको लोकपि्रयता र यसबाट आर्जित सफलता सकारात्मक बाटो तर्फ अगाडी बढेको अनुभव गर्न सकिन्छ ।

हाम्रो देशको भौगोलिक अवस्थाको कुरा गर्दा यहाँका हिमाल पहाड तराई जुनसुकै क्षेत्र पनि प्राकृतिक सम्पन्नताले भरिपूर्ण रहेका छन् । विकट हिमाली तथा पहाडी इलाकामा प्राकृतिक रुपले फुल्ने सुनाखरी लालीगुराँस हुन् वा उपत्यका र तराईका फाँटमा फूल्ने मखमली सयपत्री हुन् सबैको आ-आफ्नै विशिष्ठ महत्व रहि आएको छ । प्राकृतिक रुपले सम्पन्न हावापानीको कारणले नै यहाँको जैविक विविधताको संरक्षण हुन पुगेको छ ।

नेपालको पुष्प व्यवसायको बजारलाई आंकलन गर्दा विगतका वर्षहरुमा ८० प्रतिशत हिस्सा भारत तथा अन्य समुद्रपारका मुलुकबाट आयात भइरहेकोमा हाल व्यवसायिकहरुको उत्साह र लगनशिलताका कारण कुल मागको लगभग ६० प्रतिशत भन्दा बढी स्वदेशी उत्पादनले परिपुर्ति गर्न सफल भएको छ । अझ कटफ्लावरका रुपमा आउने ग्लाडियोलस, रजनीगन्ध लगायतका फूलहरुको उत्पादनले स्वेदेशी माग धान्ने अवस्थामा आई सकेको छ । जसको परिणामस्वरुप एकातिर नेपाली बजारमा आयात हुने विदेशी फूललाई विस्थापित गरी आफ्नो बजार प्रबर्दन गर्न मद्दत पुगेको छ भने अर्कातिर विदेशी मुद्राको बचत भई राष्ट्रिय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्न मद्दत पुगेको छ । जसले गर्दा व्यवसायिक तथा उत्पादन स्तरका जनताको उत्साहमा जागरण ल्याई व्यावसायिक दक्षता अभिवृद्धि हुन मद्दत पुगेको छ ।

नेपाल सरकारले १० औँ योजना अवधिमा गरिबी निवारणका लागि कृषिमा सुधारिएको प्रविधि उपयोग गदै व्यवसाय अभिवृद्धि गर्न एवं गरिबी निवारणमा लाग्ने आफ्नो मूल उद्देश्य बनाएको छ । पुष्प व्यवसाय पनि एक भरपर्दो कृषि व्यवसाय हो । यसलाई नेपाल सरकारले अंगिकार गरेको उद्देश्य प्राप्तीमा सहयोग पुर् याउने क्षेत्रको रुपमा लिन सकिन्छ । ४२ प्रतिशत निरपेक्ष गरिबीको रेखामुनी तथा ६५ प्रतिशत गरिब भएको नेपाल जस्तो विकाशोन्मुख राष्ट्रमा दैनिक रोजी रोटीको लागि पनि पुष्प व्यवसायको विकास एक भरपर्दो माध्यम सावित हुन सक्दछ । यसै कुरालाई हृदयगम गरी यस व्यवसायमा लाग्ने कृषक तथा व्यवसायिहरुको जीवनस्तर सुधार तथा क्षमता अभिवृद्धि गर्नका लागि व्यवसाय शुरु गरि सकेका तथा शुरु गर्न चाहने कृषक तथा व्यवसायिहरुलाई क्षेत्र हेरी क्षेत्रमा संलग्न कृषकहरुलाई नस्ररी व्यवस्थापन मौसमी तथा बेमौसमी फूल उत्पादन तालिम लगायतका कार्यक्रमहरु साचालन गर्नु आजको टड्कारो आवश्यकता भईसकेको छ । त्यसै गरी फूल व्यवसाय गर्न चाहनेहरुका लागि बजार माग तथा मौसमी मागलाई दृष्टिगत गरी पुष्प सजावटका तालिम कार्यक्रमहरु साचालन गर्नुपर्ने देखिन्छ भने अर्कोतिर विदेशबाट आयात भैरहेका फूल विरुवाहरुलाई प्रतिस्थापन गर्न किमती एवं दुलर्भ जातका फूलहरुलाई स्वदेश मै उत्पादन गर्नका लागि विदेशी प्रविधि ज्ञान र सीपलाई नेपाली व्यवसायिहरु माझ परिचित गराई व्यवहारमा उतार्ने वातावरणको सिर्जना हुनुपर्ने देखिन्छ ।

सुधार गर्नुपर्ने पक्षहरु
पुष्प व्यवसाय हाल नेपालमा शोख तथा व्यावसायिक दुई किसिमले गर्दै आइएको छ । शोखका रुपमा व्यवसाय गर्नका लागि त कमै समस्याहरु होलान् । तर व्यवसायिक रुपले पुष्प व्यवसाय गर्ने व्यवसायिकका लागि भने विभिन्न समस्याहरु रहेका छन् । यो व्यवसाय भर्खरै मात्र व्यवसायिकता तर्फ लागेको हुँदा व्यवसायबारे अनुभव तथा सीपको कमी छ । त्यसैगरी दक्षता अभिवृद्धिका लागि आवश्यक तालिम तथा भ्रमण गर्न असमर्थता एवं आर्थिक रुपले पनि महड्डो व्यवसाय भएकोले कम पूँजी तथा कम क्षेत्रफल र बढी मेहनतमा उत्पादन गरेको फूलको बजारका लागि पनि भौतारिनु पर्ने अवस्थाहरु सृजना हुने भएकोले व्यवसायमा तल्लीन भएका व्यवसायिहरु हतोतसाही हुने अवस्था आउन सक्दछ । अर्को तर्फ साना कृषक तथा व्यवसायिहरु ठूला व्यवसायिसँग प्रतिस्पर्धामा जान नसक्ने भएकोले साना व्यवसायिहरुको उत्पादनले उपयुक्त प्रतिफल प्राप्त गर्न सकेको पाइदैन जुन समस्याको समाधानका लागि साना व्यवसायिहरु मनचित्त भएर ठूला व्यवसायिहरुसँग प्रतिस्पर्धा गर्न र ठूला व्यवसायिहरुले पनि साना व्यवसायिलाई सद्भावका साथ सहयोग गर्नु पर्दछ ।







धन्यवाद
फूलबारी मुख्यपृष्ठ
प्रतिक्रिया पठाउनुहोस
phoolbari.com@gmail.com
जना अनलाइनमा


दिगो बिकास दिगो शान्तिका लागि बोटबिरुवा लगाऔं।    फूलबारीकम || phoolbari com
© २००८ सर्बाधिकार फूलबारी डटकमसँग सुरक्षित
बिज्ञापन

बिज्ञापन