Phoolbari Logo Special
लेख पठाउनुहोस-phoolbari.com@gmail.com
 ऋतु      बसन्तऋतु     ग्रीष्मऋतु       शरदऋतु      हिउँदऋतु  
बिज्ञापन बिज्ञापन बिज्ञापन







ल्याण्डस्केप एक परिचय
(Landscape an Introduction)

रामजी प्रसाद तिमिल्सिना


ल्याण्डस्केप भन्नाले भू-दृश्यलाई जनाउँदछ । कुनैपनि ठाउँलाई ढुंगा माटो पानी बोटबिरुवाको सहायताले त्यस ठाउँलाई मनोरम दृश्यमा परिणत गर्ने काम वा प्रकृतिले नै दिएको रमणिय हिमाल पहाड झरना तथा बोटबिरुवाको संगमस्थललाई नै ल्याण्डस्केप भनिन्छ । दिनप्रतिदिन बढदो शहरीकरणको कारणले गर्दा ल्याण्डस्केपको महत्व र बजार दिनप्रतिदिन बढ्दो छ । आजकल शहरी क्षेत्रमा बन्ने प्राय प्रत्येक घरहरुमा ल्याण्डस्केपको लागि केहि जमिन छुट्टयाएको पाइन्छ । विना ल्याण्डस्केपको घरहरु त्यति शोभनिय तथा आकर्षक देखिदैन । ठूला-ठूला व्यापारिक भवन तथा होटलहरुमा ल्याण्डस्केप अनिवार्य जस्तै भइसकेको छ । ल्याण्डस्केपले गर्दा सम्बन्धित स्थानको वातावरण नै रमणीय बनेको हुन्छ । दिनभरको दौडधुप तथा थकान मेट्ने माध्यमको रुपमा ल्याण्डस्केपले आजभोली व्यापकता पाउँदै गएको छ । मानिसले आफ्नो स्वभाव, रुचि र क्षमता अनुसार आजभोली ल्याण्डस्केप गरेको पाइन्छ ।

ल्याण्डस्केपका किसिम (Types of Landscape)
प्राकृतिक ल्याण्डस्केप (Natural Landscape)
प्रकृतिले नै दिएको झरना पहाड हिमाल तथा हरियालीले बनेको रमणिय स्थानलाई प्राकृतिक ल्याण्डस्केप भनिन्छ ।

कृत्रिम ल्याण्डस्केप(Artificial Landascape)
कुनै व्यक्ति वा संघसंस्थाले कुनै पनि ठाउँलाई ढुंगा, माटो वा बोटबिरुवाको सहायताले त्यस ठाउँलाई सजाएर त्यो ठाउँको भू-दृश्यनै परिवर्तन गरी आकर्षक रुपमा परिणत गरी बनाएको ल्याण्डस्केपलाई कृत्रिम ल्याण्डस्केप भनिन्छ ।

पार्क ल्याण्डस्केप (Park Landscape)
कुनै पनि ठाउँलाई आकर्षक बगैँचा, स्वीमिड्ड पुल, रेष्टहाउस, गाडी पार्किंग, खुल्ला ठाउँ वा विभिन्न भागमा छुट्टयाई सार्वजनिक प्रयोगका निम्ति निश्चित समयको लागि विभिन्न समारोह, भोज, पिकनिक गर्ने स्थानको रुपमा परिणत गरि बनाइने ल्याण्डस्केपलाई पार्क ल्याण्डस्केप भनिन्छ ।

हाउस गार्डेन ल्याण्डस्केप House Garden Landscape)
घर वरिपरिको खाली ठाउँलाई विभिन्न बोटबिरुवा, फलफूल, घाँस, झरना, फोहरा वा अन्य तरिकाले सजाई घरलाई सुहाउँदो बगैँचा बनाउने कामलाई हाउस गार्डेन ल्याण्डस्केप भनिन्छ ।

अस्थाई ल्याण्डस्केप (Temporary Landscape)
कुनै पनि ठाउँलाई कुनै खास सयम तथा कुनै खास कार्यक्रमको लागि माटो ढुंगा पानी बोटबिरुवाले सजाई आकर्षक बनाउने कामलाई अस्थायी ल्याण्डस्केप भनिन्छ ।

ल्याण्डस्केप तथा बगैँचा बनाउँदा ध्यान दिनुपर्नेकुराहरु
ल्याण्डस्केप गर्दा सुख्खा ठाउँ भएमा एउटा पोखरी बनाएर मेशिनको सहायताले भएपनि झरनाको रुप दिनसके त्यस ठाउँको दृश्य नै आकर्षक देखिन्छ । त्यसैगरी बढि चिस्यान हुने तथा ओसिलो ठाउँ भएमा त्यस ठाउँलाई माटोले भरी अग्लो बनाएर ढुंगाहरु धेरै प्रयोग गरेर एक गार्डेनको रुपमा परिणत गर्दा राम्रो देखिन्छ । अन्य हकमा ठाउँ हेरेर कसरी राम्रो देखिन्छ, कुन बोटबिरुवालाई कम वा बढि घाम चाहिन्छ, कुन स्तरको घाँस तथा फुलहरु कस्तो ठाउँमा हुन्छ भन्ने पूर्व जानकारी लिएर त्यसै अनुसार बोटबिरुवा लगाएर त्यस ठाउँलाई आकर्षक रुपमा परिणत गरी ल्याण्डस्केप गर्दा राम्रो हुन्छ ।

जमिन मिलाउँदा
आफ्नो बगैँचा बनाउने ठाउँ वा स्थानमा आवश्यकता अनुसार पानी नजम्ने गरी जमिनलाई सम्याउनु पर्दछ । यदि बगैँचमा पानी जमेमा पानीले बिस्तारै बोटबिरुवाको जरालाई कुहाउँछ र बिरुवा मर्दछ । त्यसैले पानीको निकास राम्रोसँग मिलाउनु पर्दछ ।

खाल्टो खन्दा
रुख जन्य बोटबिरुवा लगाउन कम्तीमा पनि दुई फिट गहिरो र डेढ फिट चौडाई खाल्टो खन्नु पर्दछ । तर सिजनल फूलको लागि भने विरुवाको साइज अनुसार खाल्टो खन्नु पर्दछ र माटो खुकुलो पार्नु पर्दछ । जति ठूलो खाल्टो खनेर मल माटो बालुवा मिसाएर पुर्न सक्यो त्यति नै छिटो जरा फैलिन सक्छ र बोटबिरुवा छिटो बढ्न सक्छ ।

माटो निरीक्षण
बोटबिरुवा लगाउनु भन्दा पहिला माटोको उर्वरा शक्ति कस्तो छ निरीक्षण गर्नुपर्दछ । माटो बढी चिम्ट्याइलो वा बढी बालुवा भएको छ कि, माटोमा किराहरु तथा घाँसका जराहरु छ कि निरीक्षण गर्नुपर्छ । माटो बढी चिम्ट्याइलो भएमा भूसको खरानी वा बालुवा मिसिएको माटो (बलौटे पाँगो माटो) मिसाउनु पर्दछ । माटोमा किरा भए माटोमा राख्ने पाउडर पानीमा घोलेर या यत्तिकै छर्नुपर्दछ । घाँसको जराहरु भएमा राम्रोसँग केलाउनु पर्दछ । अन्य खराबी भएमा सोको पहिचान अनुसार माटोको उपचार गर्नुपर्दछ ।

माटो मिलाउँदा
बोटबिरुवा रोप्नु वा लगाउनु भन्दा पहिला माटोमा रहेको समस्या पहिचान गरी माटो मिलाउनु पर्दछ । त्यसका लागि दुई भाग माटो एक भाग बालुवा र एक भाग पत्कर मल कम्पोस्ट मल मिलाउनु पर्दछ । यसरी मिलाइसकेपछि आवश्यक परे घाममा सुकाउनु पर्दछ । यदि माटो वा मलमा अत्यधिक चिसोपन हुन गएमा विरुवा मर्न समेत सक्दछ । साथै माटो ज्यादै नै सुख्खा रहेमा आवश्यकता अनुसार पानी मिलाउनुपर्दछ ।

बोटबिरुवा लगाउँदा
माटो बालुवा र मल मिसाएर तयार गरिएको माटोले खाल्डोलाई आधासम्म पुर्नुपर्दछ र बोटबिरुवाको जरालाई नखल्बल्याई्र निकाली अर्थात गमला, प्लाष्टिक वा बोरा केमा छ त्यसबाट सुरक्षित झिकी खाल्टोमा बोट सिधा पारेर लगाउनु पर्दछ र विस्तारै वरिपरिबाट पुर्नुपर्दछ ।

दुबो लगाउँदा
दुबो रोप्नु भन्दा पहिला माटो राम्रोसँग थिचेर तथा पिटरे सम्याउनु पर्दछ । किनकी पछि पानी लगाउँदा कतै होचो कतै अग्लो नहोस् । सानो सानो टुक्रा दुबोलाई जराभित्र पर्ने गरी दुई-दुई इन्चको फरक पारेर रोप्नुपर्दछ । सम्भव भएसम्म दुबो लगाउँदा बलौटे पाँगोमाटोमा लगाउनु पर्दछ । दुबो लगाई सकेपछि बेला बेलामा अन्य घाँसहरु आएमा निकाल्नु पर्दछ र मल पानी हाल्नु पर्दछ । दुबो सानो सानो गरेर लगाउँदा हरियो भएर ढाक्न छ महिना सम्म लाग्छ । छिटो हरियाली बनाउन दुबोलाई नछुटाई पूरै चपरी छाप्नु पनि सकिन्छ ।

पानी राख्दा
बोटबिरुवा लगाउने बित्तिकै एक पटक जरा भिज्ने गरी पानी लगाउनु पर्दछ । पछि एक दिनको अन्तरालमा वा माटो हेरेर सुख्खा भएमा तत्काल पानी राख्नु पर्दछ । पानी राख्दा बिहान बेलुका मात्र राख्नु पर्दछ तर एकदमै सुख्खा भएर बिरुवा ओइलाएको छ भने दिउँसो पनि पातमा नपर्ने गरी जरामा मात्र पर्ने गरी पानी राख्नुपर्छ ।

गोडमेल तथा रेखदेख
बोटबिरुवा लगाएर मात्र हुँदैन गोडमेल तथा रेखदेख भएन भने त्यो बिरुवा मर्न सक्दछ । बोटबिरुवाको वरिपरि अन्य घाँस तथा झार आएको छ भने निकाल्ने, राम्रोसँग कुहिएको मल बेला बेलामा बिरुवाको वरिपरि मात्र पर्ने गरी हाल्ने र बोटबिरुवाको वरिपरि माटो खुकुलो बनाई राख्नुपर्दछ । किरा वा रोग लागेमा सोको पहिचान अनुसार औषधी प्रयोग गर्नुपर्दछ । बोटबिरुवाको अवस्था हेरेर छाँटकाँट पनि गर्नुपर्दछ ।

विश्वका धेरै विकसित देशहरुमा अत्यन्तै लोकिपि्रय ल्याण्डस्केप सजावट हाल आएर नेपालका प्रमुख शहरहरुमा समेत लोकपि्रय बन्दै गइरहेको छ । नयाँ घरहरु बनाउँदा अनिवार्य जस्तै भइसकेको ल्याण्डस्केप सजावट वास्तवमा गार्डेनिड्डको सम्बन्धमा प्रत्यक्ष सम्बन्ध राख्ने विद्या पनि हो । अतः हामी पनि आफ्नो घर आँगन छत चोक ट्राफिक आइल्याण्डहरुमा सुहाउँदो ल्याण्डस्केप डिजाइन गरि आफ्नो मात्र नभई घर, चोक, शहर र देशकै शोभा बढाऔँ ।









धन्यवाद
फूलबारी मुख्यपृष्ठ
प्रतिक्रिया पठाउनुहोस
phoolbari.com@gmail.com
जना अनलाइनमा


दिगो बिकास दिगो शान्तिका लागि बोटबिरुवा लगाऔं।    फूलबारीकम || phoolbari com
© २००८ सर्बाधिकार फूलबारी डटकमसँग सुरक्षित
बिज्ञापन

बिज्ञापन